योगदान राष्ट्रको लागि अभियानद्वारा काठमाडौंमा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

योगदान राष्ट्रको लागि अभियान अन्तर्गत काठमाडौं महानगर समितिको आयोजनामा पुस १९ गते शनिबार बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । काठमाडौं महानगरपालिका–२६, लैनचौरस्थित सिल्भर माउन्टेन कलेज (होटल म्यानेजमेन्ट) परिसरमा आयोजित उक्त शिविरबाट करिब १०० जना सेवाग्राहीले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेका छन् । शिविरमा दन्त परीक्षण, आँखा परीक्षण, रक्तदान कार्यक्रम तथा साधारण स्वास्थ्य परीक्षण सेवा प्रदान गरिएको थियो । कार्यक्रममा हिमाल अस्पताल, कीर्तिपुर आँखा अस्पताल, ओम डेन्टल, ब्लड बैंक तथा अन्य सहयोगी संस्थाहरूको प्राविधिक सहयोग रहेको थियो ।
हिमाल अस्पतालबाट डा. अनुज कुमार सिंह (फिजिसियन), डा. शृष्टी सुब्बा राई (नाक, कान, घाँटी) र डा. नितिन ग्यावाली (मेडिकल डाक्टर)ले सेवा प्रदान गरेका थिए । त्यसैगरी कीर्तिपुर आँखा अस्पतालबाट दुर्गा देवी श्रेष्ठ (अप्थाल्मिक एसिस्टेन्ट), रेनु चौधरी र नवीन उपाध्यायले आँखा परीक्षण सेवा दिएका थिए । ओम डेन्टलबाट डा. पूजा थापा, डा. दिक्ष्या चौधरी तथा सबिता निरौलाले दन्त परीक्षण गरेका थिए । रक्तदान कार्यक्रम ब्लड बैंक (किरण योगि टिम) को समन्वयमा सम्पन्न भएको थियो। कार्यक्रममा तार्केस्वर क्लब ६० का संयोज राजन थापा ज्यु समेतको सहयोग रहेको थियो ।
कार्यक्रमलाई शोभा बढाउन योगदान राष्ट्रको लागि केन्द्रिय कोषाध्यक्ष दीर्घराज भट्टराईको विशेष उपस्थिति रहेको थियो । उहाँले काठमाडौं महानगर समितिले गरेको यस सेवामूलक कार्यको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा पालिका अध्यक्ष शर्मिला थापाले पनि मन्तव्य राख्दै नागरिकको स्वास्थ्य सुरक्षाका लागि यस्ता शिविर अत्यन्त उपयोगी रहेको बताउनुभयो । काठमाडौं महानगर समितिका पदाधिकारीहरूमा पालिका अध्यक्ष शर्मिला थापा, पालिका उपाध्यक्ष अमिता त्रीताल अधिकारी, सचिव दिनेश रुवाली, कोषाध्यक्ष बिजना त्रीताल तथा सदस्यहरू डोलराज न्यौपाने, गणेश पौडेल, राधेश्याम श्रेष्ठ र सबिन लामा रहेका छन् । कार्यक्रम सञ्चालन योगदान राष्ट्रको लागि काठमाडौं महानगर समिति सचिव दिनेश रुवालीले गर्नुभएको थियो । कार्यक्रममा सहयोगी संस्था, चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई सम्मान पत्र प्रदान गरिएको थियो ।

 

Leave a comment