काठमाडौं । योगदान राष्ट्रको लागि संस्थाको पाँचौं बार्षिक साधारण सभा यही कात्तिक २९ गते शनिबार हुने भएको छ । संस्थाको केन्द्रीय समितिको बैठकमार्फत साधारण सभा गर्ने निर्णय भए अनुसार कार्यक्रमको तयारी भइरहेको छ । संस्थाका अध्यक्ष ओम उप्रेतीका अनुसार बार्षिक साधारण सभाको तयारी तीब्र पारिएको छ । कार्यक्रम चाबहिलको सरस्वतिनगरस्थित ए वान पार्टी प्यालेसमा दिउँसो २ बजेबाट हुनेछ ।
कार्यक्रममा संस्थाका विभिन्न समिति, पालिका समिति, वडा समिति, आजीवन सदस्य, सदस्य, स्वयंसेवकहरुलाई उपस्थितिका लागि निमन्त्रणा गरिएको छ । साधारण सभामा संस्थाको बार्षिक प्रतिवेदन हालसम्मका उपलब्धी प्रस्तुत, आगामी कार्यक्रमको बारेमा छलफल हुनेछ ।
यस्तै, संस्थाले कात्तिक २८ र २९ गते चाबहिलको ओम समाज डेन्टल हस्पिटलको हलमा सीपीआर तथा प्राथमिक उपचार तालिम सञ्चालन गर्नेछ । २८ गते विहान १० बजेबाट बेलुका ४ बजेसम्म र २९ गते विहान १० बजेबाट दिउँसो १ बजेसम्म सञ्चालन हुनेछ । तालिममा योगदानका सदस्य, स्वयंसेवकका साथै संस्था बाहिरका व्यक्तिहरु पनि सहभागि हुने सक्ने प्रवक्ता हिरण्यराज उप्रेतीले बताउनुभयो । तालिममा सहभागि हुनेको नाम टिपाउने कार्य भइरहेको उहाँले बताउनुभयो ।
“योगदान राष्ट्रको लागि” संस्था नेपालमा प्राथमिक उपचार सम्बन्धी तालिम दिई देशमा आइपर्ने दैवी प्रकोप, महामारी, दुर्घटना, तथा आपतकालिन अवस्थाका लागि जनशक्तिको विकास गरी स्वतन्त्र स्वयंसेवक खडा गरेर परेको बेला समाजमा योगदान दिन गठित एक सामाजिक मुनाफा रहित जनहितकारी संस्था हो । यो संस्थाले कार्य सुरुवात २०७४ साल देखि गरेको र मिति २०७७ असोज पाँच गते कम्पनी रजिस्टारको कार्यालय तथा मिति २०७७/६/२२ गते समाज कल्याण परिषदमा आवद्ध भइ कार्य गर्दै आएको छ ।
गाउँ नै गाउँले भरिएको हाम्रो देश सबै बस्तीमा आधारभूत स्वास्थ्य सेवा पुग्न सकेको छैन, अधिकांश बस्तीहरुमा सवास्था चेतनाको कमि रहेको छ । यहि तथ्यलाई मध्यनजर गरि यूएईमा रहेको Discovery Royal Sports LLC कम्पनीका प्रवन्धक, निर्देशक, Dubai Corporation For Ambulance Services प्रशिक्षक तथा प्राथमिक उपचार तालिम सम्बन्धी अन्तराष्ट्रिय मान्यता प्राप्त लण्डनमा मुख्यालय रहेको हाइफिलबाट अन्तराष्ट्रिय प्रशिक्षकको तालिम लिएका ओम उप्रेतीद्वारा २०७४ चैत १ गतेबाट यो अभियानको शुरु भएको हो ।
प्राथमिक उपचार तालिम अभियान, विदेशमा सिकेको सीप र ज्ञानलाई नेपाल र नेपालीहरुलाई समर्पित गर्ने सामाजिक सेवाभावले सञ्चिलत यो अभियान नेपालका सबै गाउँमा पुर्याउने लक्ष्य रहेको छ ।