नेपाली राजदूतावास अबुधाबीमा प्राथमिक उपचार सम्बन्धी तालिम सम्पन्न

नेपाली राजदूतावास, अबुधाबी र योगदान राष्ट्रको लागि यूएईको सहकार्यमा राजदूतावास, अबुधाबीमा प्राथमिक उपचार सम्बन्धी जनचेतना तथा तालिम सम्पन्न भएको छ ।
मिति २०८२ कात्तिक १७ गते सोमबारका दिन दूतावासमा सेवा लिन आएका ६० जनालाई योगदान राष्ट्रको लागि केन्द्रीय अध्यक्ष, परिकल्पनाकार, अन्तर्राष्ट्रिय प्रशिक्षक ओम उप्रेतीले प्रशिक्षण दिनुभएको हो । उहाँले मानिस बेहोस भएमा वा कुनै दुर्घटनामा परेमा, छारे रोग लागेको अवस्थामा, सर्पले टोकेमा, हृदयघात भएमा, सीपीआर गर्नुपरेमा, अत्यधिक रगत बगेमा वा जलन भएका अवस्थामा तत्कालै गर्नुपर्ने प्राथमिक उपचारको बारेमा प्रयोगात्मक प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा काउन्सेलर तथा उपनियोग प्रमुख रन्जिता दाहाल र श्रम सहचारी पंकज लाभ कर्णले श्रमसँग सम्बन्धीत विविध विषयमा जानकारी गराउनुभएको थियो । राजदूतावासले केही समय अघिदेखि सेवा प्रवाहसँगै यूएईमा कार्यरत नेपालीहरुलाई शारिरिक तथा मानसिक स्वास्थ्य र श्रम सम्बन्धी विषयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको दुतावासले विज्ञप्तिमार्फत जानकारी गराएको छ । कार्यक्रममा योगदान राष्ट्रको लागि केन्द्रीय सचिव विष्णु भण्डारी, केन्द्रीय सदस्य पूर्णबहादुर ओली, ललिता उप्रेती, यूएई समिति अध्यक्ष दिवस चापागाइँ, आजीवन सदस्यहरुको उपस्थिति थियो ।

Leave a comment