योगदान राष्ट्रको लागि अभियानले चितवनको खैरहनी नगरपालिका वडा नंं. १२ स्थित कपिया माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
भदौ ३ गते मंगलबारका दिन योगदान राष्ट्रको लागि यूएई समितिका सचिव एवं आजीवन सदस्य मनोज उप्रेतीको जन्मदिनको अवसरमा उहाँको आर्थिक सहयोगमा एक सय ५५ जना बालबालिकाहरुलाई कापि, कलम, सिसाकलम, ज्यामिटी बक्स प्रदान गरिएको हो । एक जना बराबर १० वटा कापि, २ वटा कलम, २ वटा सिसाकलम र १ वटा ज्यामिटी बक्सका दरले प्रदान गरिएको हो ।
सहयोग गर्ने उप्रेती विद्यालयका पूर्व विद्यार्थी समेत हुनुहुन्छ । उहाँ हाल यूएईमा बसोबास गर्दै आउनुभएको छ । कार्यक्रममा केन्द्रीय सदस्य रितु गिरी, सल्लाहकार केएन सिलवाल, खैरहनी नगर समितिका अध्यक्ष बालकृष्ण उप्रेती, सचिव भुवन पाठक, भरतपुर महानगर समिति अध्यक्ष लक्ष्मी रिजाल, सचिव इन्दिरा बराल, सहसचिव मिना पौडेल, सदस्य निरु पौडेल, सिसन चौधरी, राज उप्रेतीलगायतको उपस्थिति थियो ।
उक्त कार्यक्रम योगदान राष्ट्रको लागि खैरहनी नगर समितिको आयोजनामा भएको थियो ।
