नेपाल फेस्टिवल २०२५ मा योगदान राष्ट्रको लागि युएई समितिद्धारा २५ हजार बोटल निःशुल्क पानी वितरण

दुबई युएई । युएईको दुबई क्रिक पार्कमा आयोजना गरिएको नेपाल फेस्टिवल २०२५ मा योगदान राष्ट्रको लागि युएई समितिद्धारा निःशुल्क पानी वितरण गरिएको छ ।

“नेपाली कला, संस्कृति, पर्यटन, व्यापार तथा नेपाली पहिचानको उत्सव” भन्ने नाराका साथ बैशाख ७ गते (२० अप्रिल २०२५) का दिन फेस्टिवलको आयोजना गरिएकोमा उक्त कार्यक्रममा युएई समितिले सहभागिहरुलाई निःशुल्क रुपमा पानीको व्यवस्था गरेको हो । उक्त कार्यक्रममा योगदान राष्ट्रको लागि केन्द्रीय अध्यक्ष एवं केन्द्रीय अध्यक्ष ओम उप्रेती, केन्द्रीय सदस्य पूर्ण बहादुर वली, ललिता अर्याल, युएई समितिका अध्यक्ष राजु शर्मा, पदाधिकारी ज्युहरु उपाध्यक्ष मुक्ति उप्रेती, कोषाध्यक्ष भूमिराज कँडेल, महिला संयोजक शर्मिला कार्की, अतिथिहरु सोभा कडरिया, सल्लाहकार ज्युहरु देवराज शर्मा, अनुराग परिहार र सदस्य ज्युहरु नरेन्द्र खड़का, हरि बि.क., सागर उप्रेती, प्रवीन ढकाल, दीपक थापा सहायक सदस्य ज्युहरुले स्वयंसेवक बनि सहयोग गर्नु भएको थियो ।

कार्यक्रममा योगदानका स्वंयसेवहरुको उपस्थिति थियो । फेस्टिवलमा आएका सहभागिलाई केही राहत पुर्याउने उद्धेश्यले उक्त कार्य गरिएको युएई समितिका अध्यक्ष राजू शर्मा ज्यु ले बताउनुभयो । साथै पानी बितरणमा आर्थिक सहयोग सल्लाहकार राजु खत्री ज्यु र ग्रीन स्काई ट्राभलको रहेको थियो भने सम्पूर्ण सदस्य ज्युहरुबाट पनि सहयोग रहेको थियो ।

उक्त फेस्टिवल नेपाली कला, संस्कृति, पर्यटन, व्यापार तथा नेपाली पहिचानको उत्सव मनाउने अभिप्रायले नेपाली राजदूतावास, आबुधाबीको संरक्षकत्वमा तथा नेपाल एसोसिएसन–एनआरएनए एनसीसी, यूएई, नेपाली समाज यूएई, नेपाल विजनेश काउन्सिल, यूएई, सम्पूर्ण बैचारिक संगठनहरु, नेपाल आदीवासी जनजाती महासंघ शाखा यूएई, नेपाल पत्रकार महासंघ शाखा युएई शाखा तथा तथा यूएईमा क्रियासिल सम्पूर्ण संघ संस्थाहरुको संयूक्त आयोजनामा भएको थियो ।

यस फेस्टिवलले नेपाल र यूएईबीचको सांस्कृतिक सम्बन्धलाई अझ मजबुत बनाउनुका साथै नेपाली समुदाय बिच आपसी एकता, सहयोग, र परम्परागत पहिचानको उत्सवको रुपमा मनाउने अवसर प्रदान गरेको छ । नेपाल फेस्टिवलमा विश्वभरी छरिएर रहेका नेपालीभाषी तथा नेपाली कला संस्कृतिलाई माया गर्ने व्यक्ति विशेषहरुको सहभागिता थियो ।

फेस्टिवलका विशेष आकर्षणहरूमा नेपालीहरुको जातीय, वर्गीय, सम्प्रादय तथा क्षेत्रीय (तराई, पहाड, हिमाल) को मौलिक संस्कृतिको प्रदर्शन तथा प्रर्वद्धन, विभिन्न विधामा दिग्गज व्यक्तित्वहरु संग प्रत्यक्ष साक्षत्कार, नेपाल तथा यूएईमा प्रख्यात कलाकारहरुको साँस्कृतिक तथा सांगितिक प्रस्तुतीहरु, नेपालको राष्ट्रिय खेल भलिबल लगायतका विभिन्न खेलकुद प्रतियोगिताहरु, नेपालमा पर्यटन प्रर्वद्धन गर्ने सामाग्रीहरुको प्रद्धर्शनी तथा खरिद विक्रि, विभिन्न प्रकारका ५० भन्दा बढी व्यापारिक प्रदर्शनी स्टलहरू रहेका थिए ।

 

 

Leave a comment