बारा जिल्लाको निजगढ नगरपालिकामा प्राथमिक उपचार सम्बन्धी एक दिने निःशुल्क तालिम सम्पन्न भएको छ ।
योगदान राष्ट्रको लागि संस्थाको आयोजनामा फागुन २१ गते बुधबारका दिन निजगढ नगरपालिका वडा नं. ९ स्थित होली एन्जल विद्यालयमा तालिम सम्पन्न भएको हो । उक्त तालिम रामकृष्ण घिमिरको संयोजकत्वमा र होली एन्जल विद्यालयको सहयोगमा सञ्चालन भएको हो ।
तालिममा योगदान राष्ट्रको लागि केन्द्रीय अध्यक्ष एवं अन्तराष्ट्रिय प्रशिक्षक ओम प्रसाद उप्रेतीले प्राथमिक उपचार सम्बन्धी प्रशिक्षण दिनुभएको थियो । उहाँले प्राथमिक उपचार भित्र समेटिने विषयहरुः बेहोस हुने, छारे रोग, अंग भंग भएमा, घाँटीमा अड्केमा, करेण्ट लागेमा, सर्पको टोकाई, रक्तश्राव, आगोले पोलेमा, विष सेवन गरेमा, पानीमा डुबेमा, किराको टोकाई, दम, लु र गर्मी लागेमा, आघात भएमा, स्वश प्रश्वास र रक्तसंचार प्रणाली, नाकबाट रगत आउने जस्ता घटनाहरुको प्राथमिक उपचार गर्ने तरिकाका बारेमा प्रयोगात्मक विधिबाट प्रशिक्षण दिनुभएको थियो ।
तालिममा शिक्षक, विद्यार्थी, अभिभावक, स्थानीयहरुको उपस्थिति थियो ।
