सुनसरी जिल्लाको धरान उपमहानगरपालिकामा प्राथमिक उपचार सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न भएको छ ।
वडा नं. १७ रेलवे चोक स्थित सुनौलो पुस्तकालयको आयोजना र योगदान राष्ट्रको लागि संस्थाको सहयोगमा २०८१ फागुन १९ गते सोमबारका दिन कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा योगदान राष्ट्रको लागि केन्द्रीय अध्यक्ष एवं अन्तराष्ट्रिय प्रशिक्षक ओम प्रसाद उप्रेतीले प्राथमिक उपचार सम्बन्धी प्रशिक्षण दिनुभएको थियो । उहाँले प्राथमिक उपचार भित्र समेटिने विषयहरुः बेहोस हुने, छारे रोग, अंग भंग भएमा, घाँटीमा अड्केमा, करेण्ट लागेमा, सर्पको टोकाई, रक्तश्राव, आगोले पोलेमा, विष सेवन गरेमा, पानीमा डुबेमा, किराको टोकाई, दम, लु र गर्मी लागेमा, आघात भएमा, स्वश प्रश्वास र रक्तसंचार प्रणाली, नाकबाट रगत आउने जस्ता घटनाहरुको प्राथमिक उपचार गर्ने तरिकाका बारेमा प्रयोगात्मक विधिबाट प्रशिक्षण दिनुभएको थियो ।
योगदान राष्ट्रको लागि धरान उपमहानगरपालिका समिति अध्यक्ष चन्द्रा घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा धरान उपमहानगरपालिका वडा नं. १७ का अध्यक्ष मनोज भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा वडा सदस्य मनिष बिष्ट, लक्ष्मी रपाल, वडा नं. १६ का सदस्य शुसीला श्रेष्ठ, मिरा बराइली, समाजसेवी डम्बर बहादुर चौहान, नेपाल प्रहरीका असई सन्जिव अधिकारी, स्काउट सदस्यहरु, योगदान राष्ट्रको लागि केन्द्रीय समितिका उपाध्यक्ष राहुल कौशल, सचिव विष्णु मणी भण्डारी, कोषाध्यक्ष दीर्घराज भट्टराई, बैकल्पिक केन्द्रीय सदस्य पुष्प ढुंगाना, आजीवन सदस्य राकेशकुमार राह, स्थानीय बुद्धिजीवी, समाजसेवी, शिक्षक, विद्यार्थी, स्वास्थ्यकर्मी, लगायतको उपस्थिति थियो ।
