योगदान राष्ट्रको लागि काठमाडौं महानगर समितिद्धारा भ्रूण हत्या सम्बन्धी जनचेतनामूलक सडक नाटक प्रदर्शन

“योगदान राष्ट्रको लागि” काठमाडौं महानगर समितिले भ्रूण हत्या सम्बन्धि जनचेतनामूलक सडक नाटक प्रदर्शन गरेको छ ।
असार २८ गते शनिबारका दिन काठमाडौं महानगरपालिका ५ स्थित हाडीगाउँ डबलीमा भब्य रुपमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रम काठमाडौं महानगर समिति अध्यक्ष शर्मिला थापाको अध्यक्षता, वडा नं. ५ का सदस्य शसी थापाको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा योगदान राष्ट्रको लागि केन्द्रीय समितिका कोषाध्यक्ष दीर्घराज भट्टराई, केन्द्रीय सदस्य केशव प्रसाद दंगाल, गोकर्णेश्वर नगर समितिका अध्यक्ष कृष्णप्रसाद चौलागाई, काठमाडौं महानगर समितिका पदाधिकारी, आजीवन सदस्य, साधारण सदस्य, स्वंयसेवक, स्थानीयबासी, नरदे जीवन्त हाडिगाउँ समितिका पदाधिकारी, सदस्यहरुको उपस्थिति थियो ।
कार्यक्रमका लागि काठमाडौं महानगरपालिका वडा नं. ०५ र नरदे जीवन्त हाडिगाउँ समितिले विशेष सहयोग गरेको थियो । भ्रुण हत्या आजको समाजमा एक जटिल र चिन्ताजनक सामाजिक अपराधको रूपमा स्थापित हुँदै गएको यथार्थ हो । यसको न्यूनीकरणका लागि जनचेतना जगाउन “योगदान राष्ट्रको लागि” संस्थाले यस किसिमको सशक्त नाटकमार्फत सन्देशमूलक पहल गरेको हो । कार्यक्रममा उल्लेखनीय उपस्थिति र उत्साहजनक सहभागिता देखिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि वडा सदस्य थापाले योगदान राष्ट्रको लागि संस्थाले लिएको उद्धेश्य असाध्यै राम्रो रहेको भन्दै धन्यवाद दिनुभयो । उहाँले सहकार्यका साथ अघि बढ्ने प्रतिवद्धता पनि जनाउनुभयो ।
नाटकको लेखन तथा निर्देशन बबी भारती श्रेष्ठले गर्नुभएको थियो । नाटकमा आरोन राज श्रेष्ठ, खोमराज खरेल (विक्रम), रामशरण कोइराला, मिरा भारती गिरी, शिव अनुराग, दिपेश परियार, राकेस कठायत, दिपेश गिरी, राजन श्रेष्ठलगायतले जीवन्त अभिनय प्रस्तुत गर्नुभएको थियो ।
सोही अवसरमा भाईटिक सम्बन्धि नाटक पनि प्रदर्शन गरिएको थियो । उक्त नाटकको लेखन तथा निर्देशन खोमराज खरेल (विक्रम) ले गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तब्य योगदान राष्ट्रको लागि काठमाडौं महानगर समिति उपाध्यक्ष अमिता अधिकारीले राख्नुभएको थियो । कार्यक्रमको संचालन सचिव दिनेश रुवालीले गर्नुभएको थियो ।

 

Leave a comment