योगदान राष्ट्रको लागि मकवानपुरगढी गाउँपालिका वडा नं. ३ समितिको पहलमा मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका वडा नं. ५ र ६ जोड्ने भालु खोलाको बाटोबाट यातायात सुचारु गरिएको छ ।
उक्त खोलाको बाटो हुँदै कुलो लगेको कारण हिँडडुलका लागि, यातायात संचालनका लागि समस्या भएको थियो । बैकल्पिक बाटोबाट हिँड्नुपर्ने अवस्था आएकाले खोलामा ह्युमपाइप हालेर, ७ घण्टासम्म जेसिबि लगाएर बाटो ग्राभेल गरिएको छ । हाल मानिस आवातजावत गर्न र यातायात सञ्चालनमा सहज भएको छ ।
फागुन २९ गते होलि पर्वको दिन गरिएको उक्त कामका लागि योगदान राष्ट्रको लागि मकवानपुरगढी गाउँपालिका समिति अध्यक्ष ताराप्रसाद पाण्डे, उपाध्यक्ष रामबहादुर बजगाईँ, योगदानका विकास थिङ, चन्द्र बञ्जाराले खर्च व्यवस्थापन गर्नुभएको थियो ।
उक्त कार्यमा मकवानपुरगढी गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष दिपेश दाहाल, मकवानपुरगढी गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष कृष्णप्रसाद बजगाइ, मकवानपुरगढी गाउँपालिका ६ का वडा सदस्य जितबहादुर घलान, योगदान राष्ट्रको लागि मकवानपुरगढी गाउँपालिका सचिव कविराज घिमिरेलगायत स्थानियबासीहरुको समेत उपस्थिति रहेको थियो ।
